जनकपुर। धनुषाको सबैला नगरपालिका–१२ स्थित कडेरी हनुमान मन्दिर परिसरमा एक पुरुष मृत भेटिएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रहरीले यसलाई धार्मिक विवादको रूपमा नबुझ्न आग्रह गरेको छ।
प्रहरीका अनुसार ४० वर्षीय बन्ठु राउत कडेरी, जो धनुषाको हंसपुर नगरपालिका–३ मल्हेनियाका बासिन्दा हुन्, बिहीबार राति मन्दिर परिसरमा सुतेकै अवस्थामा मृत फेला परेका थिए। उनको शरीरमा चोटपटक देखिएकाले घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानका आधारमा घटना विशुद्ध आपराधिक गतिविधिको परिणाम देखिएको बताए। उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक द्वन्द्व फैलाउने किसिमका अफवाहमा विश्वास नगर्न र शान्ति तथा सद्भाव कायम राख्न सबैसँग अपिल गरेका छन्।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त खोजी कुकुर परिचालन गरिएको छ भने घटनास्थलबाट प्राप्त प्रमाण संकलन गरी सम्भावित संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ।
प्रहरीले अनुसन्धान निष्कर्षमा नपुग्दासम्म तथ्यहीन प्रचार–प्रसार नगर्न आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।






































