काठमाडौं  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पार्टीभित्र अनुशासनको नाममा एकपक्षीय कारबाही भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै साउदले पार्टीभित्र गुटबन्दी, असमान व्यवहार र अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागु नभएको बताए।

"अनुशासनको नाममा एकतर्फी कारबाही भइरहेको छ," साउदले भने, "यसले पार्टीभित्र निराशा मात्रै बढाउँदैछ।"

साउदले संविधान संशोधन प्रक्रियामा ढिलाइ भएको विषयमा पनि टिप्पणी गरे। उनले दुईतिहाइ बहुमतको सरकार गठनपश्चात् तत्कालै संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्ने भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सातबुँदे सहमति अनुसार ढिलाइ गरेको आरोप लगाए।

"दुईतिहाइको सरकार बनेपछि संविधान संशोधनबारे छलफल अघि बढ्नुपर्ने थियो, तर त्यो समयमै भएन," उनले स्पष्ट पारे।

आगामी २०८४ सालमा हुने आमनिर्वाचनतर्फ संकेत गर्दै साउदले पार्टी अझै पनि चुनावी तयारीमा नरहेको टिप्पणी गरे। उनले हालको राजनीतिक परिवेशमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे।

"०८४ को चुनाव नजिकिँदै छ, तर पार्टी अझै तयारी अवस्थामा छैन," साउदले भने, "गैर-कांग्रेस मतदातासँगको दूरी बढ्दो छ, जुन भविष्यमा मत घट्ने सङ्केत हो।"