बागलुङ— प्रतिनिधि सभाका पूर्व सांसद तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ। स्वास्थ्य परीक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौ जान लागेका कंडेलको बाटोमै निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कंडेल प्रजातान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहने एक सादगीपूर्ण र इमानदार नेताका रूपमा चिनिन्थे। बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ सालको आन्दोलनमा जेल जीवन बिताएका उनले बहुदल स्थापनापछि नेपाली कांग्रेस बागलुङको सभापति र सांसदको जिम्मेवारी समेत सम्हालेका थिए।
१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मिएका कंडेलको पार्थिव शरीर आइतबार नै बिहुँ ल्याइने र सोमबार अन्त्येष्टि गरिने उनका छोरा नविन कंडेलले जानकारी दिए।
स्व. कंडेलकी धर्मपत्नी विष्णुदेवी कंडेलको दुई वर्षअघि नै निधन भइसकेको छ। उनका दुई छोरा र एक छोरी छन्।
नेपाली कांग्रेस लगायत बागलुङको राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिहरूले कंडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै गहिरो शोक व्यक्त गरेका छन्।