काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त हुन सक्ने दाबी गरेका छन्।


चितवनको नारायणगढमा शुक्रबार आयोजित लोकतान्त्रिक आन्दोलनकी अग्रणी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि सभामा बोल्दै देउवाले हालको निर्वाचन प्रणालीले कुनै एकल पार्टीलाई स्पष्ट बहुमत दिलाउन कठिन बनाएको उल्लेख गरे। तर, कांग्रेस एकढिक्का भएर अघि बढे बहुमत सम्भव हुने उनको भनाइ थियो।


उनले कुनै पनि पार्टीलाई एकल बहुमत नआएकै कारण गठबन्धनको अपरिहार्यता रहेको बताए। साथै, देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक प्रणालीमा आधारित भएकाले यसलाई अझ सशक्त बनाउनु आवश्यक रहेको धारणा राखे।


देउवाले स्व. गौरीदेवी प्रधानले देखाएको लोकतान्त्रिक मार्गमा कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।


सो शोकसभामा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका क्रममा गौरीदेवी प्रधानको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।