विराटनगर— लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा सुनसरीको धरान उपमहानगरपालिका–स्थित आसरा सुधार केन्द्र, पानवारी मा विविध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो।
विहीबार सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता केन्द्रका संचालक समिति उपाध्यक्ष शिला बज्राचार्यले गरेका थिए भने प्रमुख अतिथिका रुपमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा केन्द्रका संरक्षक प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले केन्द्रमा उपचाररत सदस्यहरूले प्रस्तुत गरेका नृत्य, कविता वाचन तथा अन्य कलात्मक प्रस्तुतिको उच्च प्रशंसा गर्दै उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरेका थिए। साथै, उनले आसरा सुधार केन्द्रले लागू औषध दुर्व्यसन नियन्त्रणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचाररत सदस्यहरूलाई पुनर्स्थापना पश्चात नयाँ आशा र विश्वासका साथ समाजमा फर्कन अनुरोध गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस क्याम्प धरानका सशस्त्र प्रहरी नायव उपरीक्षक संजिव पौडेलको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्रका सञ्चालक समितिका पदाधिकारीहरू, सुरक्षाकर्मी, कर्मचारी तथा सेवा लिइरहेका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।