काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार राजधानीको जंगीअड्डामा रहेको सैनिक विशेष अदालतको निरीक्षण गरेका छन्। सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित अनुगमन तथा निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा यो भ्रमण सम्पन्न भएको हो।
निरीक्षणका क्रममा प्रधानन्यायाधीश राउतले अदालतको कार्यप्रणाली, न्याय सम्पादनको प्रक्रिया र सञ्चालन सम्बन्धी जानकारी लिएका थिए। साथै, सैनिक न्याय प्रणालीमा संलग्न अधिकारीहरूलाई आवश्यक निर्देशन पनि दिएका छन्।
भ्रमण टोलीलाई जंगीअड्डामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।
उक्त निरीक्षण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल लगायतको सहभागिता रहेको थियो।