काठमाडौं — पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्कने तयारीमा रहेकी बेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको असार ३ गतेको बालुवाटार भेट तिक्तपूर्ण बनेको छ। झन्डै एक घण्टा चलेको ‘वान-अन-वान’ वार्तामा भण्डारीले पार्टीमा पुनः सक्रिय भुमिकाका लागि ओलीसँग स्पष्ट सहयोग मागेको, तर ओलीको प्रतिक्रिया असहज र अस्वीकारजनक रहेको एमाले नेताहरूले बताएका छन्।
एक नेताका अनुसार, भण्डारीले आउँदो महाधिवेशनमा नेतृत्वका लागि तयारी गरिरहेकी बताउँदै ओलीसँग साथ मागेकी थिइन्। तर, ओलीले प्रतिप्रश्न गर्दै भने, “केका लागि सहयोग चाहियो?” भण्डारीले “मुख्य नेतृत्वका लागि” भनेर जवाफ दिएपछि ओली झनै असन्तुष्ट भएको स्रोतको दाबी छ। भण्डारीले आफू निकट नेताहरूलाई “ओलीले मेरो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो” भनेकी छन्।
ओलीले आफू पुनः एक कार्यकाल अध्यक्ष बन्ने तयारीमै रहेको भन्दै भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सुझाएको उनी निकट नेताहरूको भनाइ छ। त्यही भेटपछि ओलीले खगराज अधिकारी र पद्मा अर्यालसहित अन्य नेताहरूसँग पनि छलफल गरेका थिए।
भण्डारी पक्षका अनुसार, उनी पार्टीमा फर्कन ओलीको अनुमतिमा नभई आफ्नो अधिकारका आधारमा आउने तयारीमा छिन्। उनका सहयोगीहरू भन्छन्— पार्टी सदस्यता नवीकरण भइसकेको छ र लेवी बुझाएको प्रमाण भण्डारीसँगै छ। तर, ओली पक्षको दाबी फरक छ— “भण्डारीको सदस्यता नवीकरण प्रक्रिया विधि विपरीत भएकाले केन्द्रले रोकेको हो।”
एमालेको विधानमा परिवर्तन गरी “पूर्वराष्ट्रपति वा उपराष्ट्रपति रहेका व्यक्ति पार्टीको सदस्य हुन नपाउने” भन्ने प्रस्ताव ओली पक्षले अघि सार्ने तयारी गरेको छ। विष्णु पौडेलको संयोजकत्वमा बनेको समितिले साउन १ गते सचिवालयमा विधान संशोधन प्रस्ताव ल्याउने सम्भावना छ। त्यसपछि पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनबाट निर्णय गरिने तयारी छ।
यदि यो संशोधन पारित भयो भने, भण्डारीको एमालेमा पुनरागमनको बाटो कानुनी रूपमै बन्द हुनेछ। ओली पक्षले विधानबाट उमेरहद हटाउने र नेतृत्व दोहोर्याउने बाटो खुला गर्न खोज्दा, भण्डारी पक्ष भने पुरानै व्यवस्था (७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा) कायम राख्न चाहन्छ। यस अभियानमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे जस्ता नेताहरू सक्रिय छन्।
कुनै समय निकट सहयोगी रहेका ओली र भण्डारीबीच अहिलेको दूरीले एमालेको आगामी महाधिवेशनलाई अझ प्रतिस्पर्धात्मक र जटिल बनाउने संकेत देखिएको छ। भण्डारी असार १४ गते मदन स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आफू सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने उच्च सम्भावना बताइएको छ।
एमालेभित्रको यो आन्तरिक शक्ति संघर्षले भण्डारीको पुनरागमन रहरमा सीमित हुने कि एमालेको राजनीतिक सन्तुलन फेरिने भन्ने प्रश्नलाई चर्काउँदै लगेको छ।