रास्वपाको महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ ।


रास्वपाको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो ।


ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।


निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको पत्र सार्वजनिक गरेपछि रास्वपाले असन्तुष्टि जनाएको थियो । लगत्तै रास्वपा केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री, झालाई प्रवक्ता मनोनीत गरेको थियो । तर ढकालले पार्टी सभापति रवि लामिछाने र संस्थापक महामन्त्री (आफू) उपस्थित नभएको बैठकले गरेका निर्णय अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । अदालतले परमादेश दिएमा रास्वपा महामन्त्रीमा फर्किने उनमा आश देखिन्छ ।