काठमाण्डौ  ।  सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ ।

असार २९ गते डीआईजीको चार वर्षे पदावधि पूरा हुने भएपछि अर्को एक वर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रस्ताव गरेका थिए। गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीलद्वय  कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ। उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गरिएको छ । 

डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको आगामी माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो। ३० वर्षे सेवा अवधिका कारण धौवजी आगामी असोजसम्म र न्यौपाने फागुनसम्म सेवामा रहनेछन्। सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ। सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ।

तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। 

थप गरिएको एक वर्षपछि त्योभन्दा माथिल्लो तहमा बढुवा नभए अवकाश हुने उल्लेख छ। तर एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन्। आईजीपीको उमेर हद ५८ वर्षे छ। ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ।  डीआईजी धौवजी र न्यौपाने यसबीचमा एआईजी बन्ने सम्भावना छैन। तत्काल एआईजीको दरबन्दी थप नहुने र ३० वर्षे सेवा अवधि पूरा हुने भएपछि दुवैजना डीआईजीबाटै अवकाश हुनेछन्। 

दुवै जना नेपाल प्रहरीको प्राविधिकतर्फको नायव निरीक्षक (सई) बाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। सशस्त्रमा आएसँगै उनीहरु एक तह बढुवा भएर सशस्त्र प्रहरी निरक्षिक भएका थिए। त्यसपछि बढुवा हुँदै उनीहरु डीआईजीसम्म पुगेका हुन्।