काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेका थिए। उनले संसदमा प्रतिपक्षको आवाज दबाउने काम भइरहेको आरोप पनि लगाएका छन्।

रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणको निष्पक्ष र गहिरो छानबिनको माग गर्दै केही समयदेखि सदनमा निरन्तर दबाब दिँदै आएका छन्।

यसैबीच, बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेटमाथि उठेका प्रश्नहरूमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ। आजको कार्यसूची अनुसार, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिएका छन्।

त्यसैगरी, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूमा पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।