काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशीका केही स्थान तथा मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागको केही स्थान तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।