काठमाडौं । नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।

मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए । 

कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा सुरक्षा गार्डहरूको पेशागत कार्यदक्षता, व्यवहार र उत्तरदायित्व सम्बन्धी विविध पक्षमा प्रशिक्षण समेत दिएका छन् । 

प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पु¥याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्घि ल्याउने रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी यस्ता तालिमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।