काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्।
ग्वार्को ओभरपास गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत निर्माण भएको हो। २०७८ फागुन १२ मा आशिष–समानान्तर रेलिगेर जेभीसँग ठेक्का सम्झौता भई २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर काम समयमा सम्पन्न नभएकाले म्याद दुई पटक थपियो। अन्ततः २०८१ पुस ८ मा निर्माण सकिएको घोषणा गरिएको हो।
निर्माणमा ढिलाइ हुँदा करिब १ करोड ४७ लाख रुपैयाँ बराबरको हर्जना तिराइएको छ। साथै, अप्रोच सडकको माटो थिचिने समस्या र केही समय काम नै रोकिएको कारणले पनि समय र लागत दुवै बढेको थियो।
ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ। ग्वार्को चोकदेखि लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइको यो संरचनामा दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ। र्याम्पको चौडाइ १०.२ मिटर छ।