काठमाडौं— काठमाडौं महानगर नगरप्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । यसअघि पाण्डेलाई ६ महिने निलम्बन गरिएकोमा उच्च अदालत पाटनले निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि उनी काममा फर्किएका हुन् ।
उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका हुन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मंगलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।