काठमाडौं— संसदमा जारी रहेको रास्वपाको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग मंगलबार बानेश्वरमा छलफल गरेका छन्।
सभामुखको आह्वानमा बसेको उक्त छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।
छलफलमा सभामुखले संसद अवरुद्ध हुनु राज्य प्रणालीका लागि गम्भीर विषय भएको भन्दै अविलम्ब समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन्।
यसअघि सभामुखले गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग पनि छुट्टाछुट्टै भेट गरी संसद सञ्चालनका विषयमा परामर्श गरेका थिए।
यसैबीच, रास्वपाका सांसदहरू नीलो स्कार्फ बाँधी सदन प्रवेश गरेको विषयमा केही सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस्तो पहिरन संसदीय मर्यादाविपरीत भएको दाबी गर्दै नियन्त्रण गर्न आग्रह गरेका छन्।
सभामुखले उक्त विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले संसदीय मर्यादा पालना गर्नु सबै सांसद तथा राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको भन्दै आत्मनियन्त्रण र स्वनियमनलाई नै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।