विर्तामोड— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । सोमबार नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताए।

लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा  भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे।

लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जाल, विद्युत विस्तारमा उल्लेखनीय प्रगति भएको दावी गरे।

कांग्रेस झापाको पुनर्निर्माण भइरहेको पार्टी कार्यालयलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै आफूले सक्दो सहयोग पु¥याउने बताए।

विस्तारित बैठकका बीच सगरमाथा आरोहणका क्रममा ७ हजार २ सय मिटरसम्मको यात्रा पूरा गरी फर्केका शर्मालाई नेपाली कांग्रेस झापाले सम्मान गरेको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर सभापतिहरुको विस्तारित बैठकका बीच महामन्त्री शर्मालाई सम्मान गरिएको हो ।

लगभग एकमहिना अघि सगरमाथा आरोहणमा निस्केका शर्मा ७ हजार २ सय मिटरको उचाइमा पुगेर फर्केका थिए । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ भने नेपालतर्फको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ । सम्मानपछि बोल्दै महामन्त्री शर्माले नेपाली कांग्रेस झापाप्रति आभार ब्यक्त गरेका थिए।

यसैबीच बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ । बैठकले नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाई गरी धान दिवस मनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए।