काठमाण्डौ । हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना छ। 

राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।