काठमाडौं— संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
सभामुखको पहलमा सुरु भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।
सभामुखले संसद अवरुद्ध हुँदा उत्पन्न गतिरोध अन्त्य गर्न सहमतिको खोजी गर्दै छलफल थालेका हुन्। प्रमुख विपक्षी दल माओवादी केन्द्र संसद खुलाउन तयार भए पनि रास्वपा र राप्रपाले अझै अवरोध जारी राखेकाले सभामुखले सबै पक्षलाई एकत्रित गरेर संवाद अघि बढाएका हुन्।
यसअघि आज बिहानै सभामुख घिमिरेले रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छुट्टै भेटवार्ता गरी अवरोध अन्त्यको प्रयास गरेका थिए।
संसदमा देखिएको गतिरोध हटाउने सभामुखको प्रयास कत्तिको सफल हुन्छ भन्ने अबको सहमतिको स्वरूपमा निर्भर रहनेछ।