काठमाडौं—  राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिले आज एघारौं चुरे संरक्षण दिवस नवलपरासीको कावासोतीमा विशेष कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो।

समिति कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख प्रकाश नेपालका अनुसार, चुरेको स्रोत संरक्षण, दीगो व्यवस्थापन र पारिस्थितिकीय सेवामार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले समिति विसं २०७१ असार २ गते स्थापना गरिएको हो।

समितिले हालसम्म १,४५९ स्थानमा गल्छी, खहरे र पहिरो नियन्त्रण, १६६ हेक्टर भिरालो कृषिभूमिमा बहुवर्षीय बाली विस्तार तथा ५,२३० हेक्टर क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिसकेको छ। साथै, दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन तथा वितरण गरिएको समितिले जनाएको छ।

नदीरखोला किनारमा ४१२ किलोमिटर तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार संरक्षण/पुनःनिर्माण, ६२८ वर्षा पानी संकलन पोखरी र ५४८ पानी मुहान संरक्षण गरिएको छ।

समितिले हालसम्म झण्डै १५ अर्ब रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०८०/८१ सम्ममा १४ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको र सो अवधिमा ८८.९३ प्रतिशत वित्तीय तथा ९१.८४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको समितिको तथ्याङ्कमा उल्लेख छ।

मासिक तलब सुविधा पाउने ६ पदाधिकारीसहित १२४ कर्मचारी दरबन्दी रहेको समितिमा हाल ८६ पदमा मात्रै कर्मचारी कार्यरत छन्। ललितपुरमा केन्द्र रहेको समितिका इकाइहरू सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा रहेका छन्।

सातवटै प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको चुरे क्षेत्र पछिल्लो समय कमलो भूवनोट, बसाइँसराइ, जलवायु जोखिम र आगलागीजस्ता कारणले थप संवेदनशील बन्दै गएको विज्ञहरूको भनाइ छ।