काठमाडौं — सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद अवरोध अन्त्यको विषयमा छलफल गरेका छन्।
सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसद गतिरोध हटाउने उपायहरूबारे कुराकानी भएको थियो। पछिल्ला दुई सातादेखि विपक्षीको अवरोधका कारण संसद कार्यवाही ठप्प भएको सन्दर्भमा सभामुख घिमिरेले चिन्ता व्यक्त गरे।
छलफलका क्रममा उनले भने, “विपक्षी दलले उठाएका मुद्दा गम्भीर छन्, त्यसैले दुई साता संसद रोकेर सहमतिको प्रयास गरें। तर अब संसद रोकिरहने अवस्था छैन। प्रतिनिधिसभाबाट विनियोजन विधेयक राष्ट्रिय सभामा ५ गतेभित्र पठाउनुपर्ने संवैधानिक बाध्यता छ। यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ।”
सभामुख घिमिरेले रास्वपा नेताहरूलाई आन्दोलनको स्वरूप परिमार्जन गर्दै संवैधानिक बाध्यता र समयको संवेदनशीलता बुझ्न आग्रह गरे। साथै, सरकारसँग संवादका लागि आफू सहजीकरण गर्न तयार रहेको उनले स्पष्ट पारे।
छलफलमा रास्वपा नेताहरूले भने आफ्ना मागहरूमा सरकार गम्भीर नभएकाले संसद अवरोध गर्न बाध्य भएको बताए। “अहिलेकै अवस्थामा हामी मागहरूबाट पछि हट्न सक्दैनौं,” रास्वपा नेताहरूको भनाइ थियो।