काठमाडौं – जामाचो हाइकिङमा गएका एक १३ वर्षीय बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ।


३१ जेठमा हाइकिङमा गएका ती बालक फर्कने क्रममा हराएको जानकारी पाएपछि नेपाली सेनाको भैरवीदल गण, नागार्जुनबाट विशेष उद्धार टोली परिचालन गरिएको थियो।


सेनाको टोलीले ती बालकलाई झण्डै ६ सय मिटर तल भिरमा खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो। बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए।


नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीका अनुसार उद्धारपछि सेनाले नै तत्काल प्राथमिक उपचार गरेको थियो। त्यसपछि बालकलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।