काठमाडौं — प्रतिनिधि सभामा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। तर, विपक्षी दलहरूको विरोध र नाराबाजीका कारण सभामा अधिकांश कुर्सीहरू खाली देखिएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले घेराउ गर्दै नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरी बाहिरिएका छन्।


विरोधका कारण प्रतिपक्षतर्फका झन्डै सबै सिट खाली छन् भने सत्तापक्षका सांसदहरूको उपस्थिति पनि उल्लेख्य देखिएन।


बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका छन्। त्यसमा सांसदहरूले आ–आफ्ना धारणा राख्न थालेका छन्।