काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई सहज, सरल र प्रभावकारी ढंगले सेवा पुर्‍याउन सकेमा लोकतन्त्र बलियो हुने बताएका छन्। उनले सरकारी कर्मचारीलाई जनतामुखी सेवा प्रवाहमार्फत जनताको मन जित्न आग्रह गरे।


शनिबार लोक सेवा आयोगको हीरक जयन्ती समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, "कर्मचारीतन्त्रले जबसम्म नागरिकको पहुँचलाई सहज बनाउन सक्दैन, तबसम्म लोकतन्त्र पनि बलियो हुन सक्दैन।"


उनले सुशासनलाई सुदृढ गर्न कर्मचारीहरूले आधुनिक प्रविधि, दक्षता र पारदर्शितामार्फत सेवा दिनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि जनताको चाहना सम्बोधन गर्न कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा सक्षम कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोक सेवा आयोगले ७५ वर्षदेखि योग्यता, निष्पक्षता र स्वच्छता आधारित सिद्धान्तअनुसार काम गर्दै आएको प्रशंसा गरे।


"आयोगले आफ्नो दायित्व निर्वाह गर्दा वर्तमान पुस्तालाई न्याय र भविष्यप्रति आशा जगाउन सक्ने संस्थाका रूपमा काम गर्नुपर्छ," उनले भने।

राष्ट्रपतिले नैतिकवान्, अनुशासित, जिम्मेवार र राष्ट्रभक्त कर्मचारीहरू नै मुलुकको प्रभावकारी सञ्चालनमा सहायक हुने स्पष्ट पारे। "लोक सेवा आयोग सरकारी सेवाका लागि कर्मचारी छनोट गर्ने आधार हो। योग्य कर्मचारी छनोटका लागि भरपर्दो परीक्षण विधि अवलम्बन गर्नुपर्छ," उनले जोड दिए।


उनले समावेशी पदपूर्तिको प्रणालीअन्तर्गत महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रका उम्मेदवार सिफारिस गर्न सफल भएको आयोगको प्रयास सराहनीय रहेको उल्लेख गरे।


"यसले नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गरी राष्ट्रिय एकतालाई बलियो बनाउनेछ," पौडेलले भने। उनले आयोग समावेशी समूहहरूबाट अझ बढी उम्मेदवारलाई सफल बनाउन समयानुकूल सुधार गर्दै अघि बढ्नेमा विश्वास व्यक्त गरे।


राष्ट्रपति पौडेलले आयोगको भूमिका, प्रतिष्ठा र जनविश्वास जोगाउँदै थप सक्षम कार्यसम्पादन गर्नुपर्नेमा पनि जोड दिए।