काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदमा विरोध जारी राख्ने निर्णय गरेका छन्।

भिजिट भिसा प्रकरणमा देखिएको अनियमितताबारे गृहमन्त्रीको प्रत्यक्ष जिम्मेवारी रहेको भन्दै दुवै पार्टीले उनीमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने अडान लिएका छन्। आइतबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा सिंहदरबारमा भएको प्रमुख दलका मुख्य सचेतकहरूसँगको छलफलमा रास्वपा र राप्रपाले आफ्नो विरोध कायमै राख्ने बताएका हुन्।

सभामुख घिमिरेले संसद्‌को आगामी कार्यसूची, विशेष गरी बजेट सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त बैठक आयोजना गरेका थिए। तर, रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन सञ्चालनमा सहकार्य गर्न नसकिने बताएका छन्। संसद अवरोधकै कारण बजेट सत्रको प्रमुख कार्यसूची प्रभावित भएको छ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुनुपर्ने समयमा सदनमै गतिरोध उत्पन्न भएपछि कार्यसूची अगाडि बढ्न सकेको छैन। यो अवस्थाले नीति तथा कार्यक्रम र बजेटमा छलफलसहितका संवैधानिक प्रक्रिया प्रभावित भएका छन्।

यता, माओवादी केन्द्रले भने भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएपछि सदन अवरोध नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका सांसदहरू सदनमा सहभागी भई नियमित प्रक्रिया अगाडि बढाउन तयार देखिएका छन्।

आजको संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। तर, रास्वपा र राप्रपाको विरोध कायमै रहने देखिएकाले बैठक फेरि अवरुद्ध हुने अनुमान गरिएको छ।

सरकार र सभामुखले दलहरूसँग सहमति खोज्ने प्रयास जारी राखेपनि गृहमन्त्रीको राजीनामा नआएसम्म सहमति सहज नदेखिएको बताइएको छ।