एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ ।

इजरायलले इरानका सैन्य र आणविक पूर्वाधारमाथि आक्रमण थालेपछि द्विपक्षीय तनाव बढ्दै गएको छ। दुई देशबीच यो दोस्रो दिन लगातार आक्रमण भइरहेको हो।इजरायली ड्रोन आक्रमणका कारण तेहरानको ‘शाहरान प्राकृतिक ग्यास प्रशोधन केन्द्र’मा ठूलो विस्फोट भएको र अर्को इन्धन केन्द्रमा समेत क्षति पुगेको रोयटर्सले जनाएको छ। 

बीबीसीको एउटा भिडियोमा इरानबाट प्रहार गरिएका मिसाइलपछिको लहरमा हाइफाको तेल प्रशोधन केन्द्र नजिक आगलागी भएको देखिन्छ। इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले सञ्जालमा आगो लागिरहेको भिडियो पोस्ट गरेका हुन् । उक्त भिडियोमा तेहरानको तेल भण्डारमा भीषण आगो बलिरहेको देखिन्छ ।

आइआरजीसीका अनुसार इजरायलका फाइटर जेटका लागि इन्धन बनाइने र विद्युत्‌को आपूर्ति हुने क्षेत्रमा आक्रमण गरिएको छ । यस्तै इजरायलले इरानविरुद्ध आक्रमण जारी राखे इजरायलविरुद्ध इरानले पनि कडा आक्रमण गर्ने चेतावनी आईआरजीसीले दिएको छ । यसबाहेक इरानमाथि भएको आक्रमणका क्रममा तीन क्रूज मिसाइल, १० ड्रोन र कैयौं साना ड्रोन खसालिएको दाबी गरिएको छ ।

इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

यसअघि इरानमा शुक्रबार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमाण्डरहरू पनि सामेल थिए। जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ, जसमध्ये ६ वटा रकेट राजधानी तेल अवीभमा खसेको जनाइएको छ । सो घटनामा परी इजरायलमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ७ सैनिकसहित ९० भन्दा बढी घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित स्थानमा सारिएको छ। 

इजरायलले प्रहार गरेको आक्रमणबाट शनिबार राति दुई जना इरानीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबरमा उल्लेख गरेका छन् ।