काठमाडौं - गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् ।
शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् ।
उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन् । विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन् । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले अनुसन्धानकाक्रममा अभियोगका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ ।’
उनले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ न्याय भएकाले पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्ने बताए ।
‘हामी लोकतान्त्रिक व्यवस्थामा छौ । लोकतन्त्रले लोककल्याणकारी राज्यको कुरा गर्छ । त्यसको आधार स्तम्भ न्याय हो । न्याय विस्तृत, बहुआयामिक छ,’ गृहमन्त्री लेखकले भने, ‘जब हामी फौजदारी न्यायको कुरा गर्छौ यसको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सकौ कि सकेनौ । कुनैपनि फौजदारी वा अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको हामीले अनुभूति गराउन सकौ कि सकेनौ त्यो फौजदारी न्यायको मूख्य उद्देश्य हो । त्यसो भएकाले हामीले यो क्षेत्रमा मेहेनतका साथ काम गर्न जरुरी रहेको छ ।’
उनले विज्ञानलाई प्रयोग गरेर संकलन गरेको प्रमाणले प्रतिवादीलाई सहयोग गर्ने खालका धेरै सम्भावना भएकोले ठिकसँग प्रयोग गर्न आग्रह गरे । उनले अनुसन्धानकर्ता र अभियोगकर्ताबिच आपसी समन्वयको जरुरी रहेको बताए ।