काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएकी छिन्।


सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म मुख्यालयद्वारा आयोजित मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले संकटको समयमा नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हुने भएकाले यसको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरिन्।


उनले भनिन्, "विपद् पूर्वतयारीदेखि उद्धार र पुनःस्थापनासम्म तीन तहका सरकारहरूबीच नीति निर्माण मात्र होइन, कार्यान्वयनमा पनि गहिरो समन्वय हुनुपर्छ।"


प्राकृतिक प्रकोपप्रति संवेदनशील नेपाल, तालिमको आवश्यकता

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम झन् बढ्दो क्रममा रहेको बताए।


उनले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको भूमिका निर्णायक हुने भएकाले देशभरका स्थानीय तहहरूमा यस्ता कृतिम अभ्यासहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए।


एसएसपी श्रेष्ठले पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यका आफैंमा बाढी र डुबानबाट ठूलो मात्रामा जनधनको क्षति भएको स्मरण गराउँदै पूर्वतयारी र दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।


कार्यक्रममा वक्ताहरूले समन्वय, प्रविधिको प्रयोग र जनस्तरको सचेतनालाई सुदृढ बनाएर विपद् न्यूनीकरणका प्रयासहरूलाई थप व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त गरे।