मुगु - विहीबार परेको अविरल वर्षासँगै चट्याङ लागेर मुगुमा एक जना किसानले पालेका १४ बाख्रा मरेका छन् ।
विहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेकाह हुन् । अन्य चारवटा बाख्रा घाइते छन् ।
एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए ।
तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ ।
झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी पसेको छ । केही गाउँले विस्तापित समेत भएका छन् ।
२०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो ।
०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए ।
वर्षापछिको बाढीले पाक्दै गरेको जौं गहुँ बालीमा पनि क्षति पुगेको छ । घटनाको एकिन विवरण आउन भने बाँकि रहेको छ ।
रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए ।