काठमाडौं — काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले लिफ्ट जडान प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै मेयर बालेन शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।
सफलले अख्तियारमा दिएका उजुरीमा भनिएको छ, “लिफ्ट जडान गर्नु आपत्तिजनक होइन, तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ र खरिद नियमावली, २०६४ विपरीत कुनै प्रतिस्पर्धा बिना, टेन्डर वा कोटेसन नगरी अपारदर्शी ढंगले लिफ्ट जडान गरिएकोप्रति मेरो आपत्ति हो।”
उजुरीमा लिफ्ट खरिद प्रक्रिया सार्वजनिक निकायका लागि अनिवार्य बोलपत्र प्रणाली अवलम्बन नगरी गरिएको भन्दै त्यससम्बन्धी सम्पूर्ण कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ।
सफलले यस्तो कार्यले कानुनको उल्लंघन मात्र नभई सार्वजनिक स्रोतको दुरुपयोग हुने खतरा रहेको बताएका छन्।