काठमाडौं— देशभरका निजामती कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को आह्वानमा विभिन्न राजनीतिक दलसँग आवद्ध कर्मचारी संगठनहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन्।
यस सञ्जालमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन्।
अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको जेठ २० गतेको बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका राष्ट्रसेवक कर्मचारीहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो। नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीका अनुसार आजदेखि कर्मचारीहरूले यो आन्दोलन सुरु गरेका छन्।
कर्मचारीहरूले संघीय निजामती सेवा ऐनमा कर्मचारीमैत्री प्रावधान समावेश गर्न, अमिल्दा र वृत्ति विकासमा असर पर्ने प्रावधान हटाउन सरकार र प्रमुख राजनीतिक दलहरूलाई दबाब दिइरहेका छन्। उनीहरूको आन्दोलन तबसम्म जारी रहने बताइएको छ जबसम्म उनीहरूको माग सम्बोधन हुँदैन।






































