काठमाडौं— राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज काठमाडौंको नारायणचौरमा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।

आज २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको छ । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।

उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’

बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तयारी छ । तर, यदि सरकारले अनावश्यकरूपमा कडाइ गर्न खोज्यो भने टकरावको अवस्था आउन सक्ने चेतावनी राजावादी नेताहरूले दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालुवाटारमा प्रदर्शन गर्न नपाइने बताए । राजावादीहरू बालुवाटार जाने भन्ने आफूले पनि सुनेको उनको भनाइ छ ।

‘हामीलाई आधिकारिकरूपमा त केही आएको छैन । तर, बालुवाटार जाने भन्ने सुनिएको छ । नारायणचौरमा उहाँहरूको प्रदर्शनलाई हेरेर आवश्यक निर्णय लिन्छौं ।’

सुरक्षा स्रोतले आज राजावादीहरूलाई कडाइ गरिने पुष्टि गर्‍यो । आज राष्ट्रपतिको सवारी पनि भएकाले सडक अवरोध गर्न नदिइने सुरक्षा स्रोतको भनाइ छ । यद्यपि, नारायणचौरमै रोक्ने हो वा बालुवाटारको निषेधित क्षेत्रबाहिरसम्म आउन दिने हो भन्नेबारे स्रोतले खुलाएन ।