काठमाडौं— कोरोनाबाट अमेरिकामा ३५० र भारतमा ११ जनाको मृत्यु भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ भने भारतमा संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।
कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीर अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।
खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।
नयाँ भाइरसले वृद्धवृद्धा र पहिलेदेखि नै बिरामी भएकाहरूलाई बढी असर गरिरहेको छ। त्यसैले ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रत्येक ६ महिनामा दुई डोज खोप लिन सल्लाह सिडिसीले दिएको छ।
अर्को ठूलो कारण भनेको अवस्था बिग्रिएसम्म मानिसहरू उपचार गर्न नखोज्नु पनि मानिएको छ । मोल्नुपिराभिर (मर्क), प्याक्सलोभिड, फाइजरं जस्ता एन्टिभाइरल चक्कीहरू अमेरिकामा उपलब्ध छन्, जुन लक्षणहरू देखा परेको पाँच दिन भित्र लिन सकिन्छ। तर, धेरैले सही समयमा सो औषधी प्रयोग गर्दैनन्। समयमै परीक्षण र औषधिले गम्भीर संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।
यता, भारतमा सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्।
महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए।
जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।