लण्डन । कोभिड–१९ को प्रकोप भएको पाँच वर्ष बितेको छ । विश्व स्वास्थ्य संगठनले ११ मार्च, २०२० मा यसलाई महामारी घोषणा गरेको थियो । यसपछि देशका सरकारले लकडाउन घोषणा गरे । उनीहरुले कैयौं महिनासम्म मानिसलाई क्वारेन्टाइनमै राखे ।
संगठनका अनुसार यो महामारीबाट करिब ७७ करोड ७० लाख बढी मानिस संक्रमित भए र ७० लाख मानिसको मृत्यु भयो । संयुक्त राष्ट्र एजेन्सीको कुरा पत्याउने हो भने मृतकको संख्या १ करोड ५० लाख बढी छ ।

यो महामारीको विनाशकारी असर अहिले पनि विश्वभर अगाडि आइरहेको छ । तर केही विश्लेषक यो अन्धकारमय समयबाट बाहिर आउँदा केही सकारात्मक सिकाईतर्फ ध्यान केन्द्रीत गरिरहेका छन् ।
तनाव र ट्रमा विशेषज्ञ र बेल्जियमको ब्रिजे विश्वविद्यालयमा स्वास्थ्य मनोविज्ञानको प्रोफेसर रहेका एल्के वेन हूफ लकडाउनलाई ‘इतिहासकै ठूलो मनोवैज्ञानिक प्रयोग’ भन्छन् ।
भ्याक्सिन प्रविधिको विकास
यो समय वैज्ञानिकहरुले विश्वभरमा खोपको क्षेत्रमा क्रान्ति नै ल्याइदिए । सार्स–कोव–२ भाइरससँग लड्न नौ महिनामै भ्याक्सिन बनाइदिए ।
सिन्थेटिक मेसेन्जर आरएनए(एम आरएनए)लाई लिएर ठूलो मात्रामा भ्याक्सिन कार्यक्रमको विकासका लागि कैयौं वर्षसम्म अध्ययन भइरहेको थियो । तर कोभिड–१९को समयमा यसको तिब्र विकास भयो ।
एम आरएनए प्रविधिको प्रयोग गरेर फाइजर(यूएसए)ले बायोएनटेक(जर्मनी) र मोर्डना(यूएस) ले आफ्नो खोप बनाए । यसले लाखौं मानिसलाई समयमै खोप लगाउन सकियो ।
यूकेकी ९० वर्षीया महिला मार्गरेट कीननले आठ डिसेम्बर, २०२० मा पश्चिमी विश्वमा कोरोनाको पहिलो खोप लगाइन् । यो बनाउने वैज्ञानिक केटालिन कारिको र ड्रू वीसमेनलाई सन् २०२३ मा चिकित्साको नोबेल पुरस्का दिइयो ।
विश्व स्वास्थ्य संगठनको सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. मार्गरेट हेरिस महामारीमा भ्याक्सिन बनाउने दौडलाई सबैभन्दा ठूलो सकारात्मक विरासत मान्छिन् । ‘हामीले अविश्वसनीय गतिमा प्रविधिको प्रगति देख्यौं’, उनी भन्छिन्, ‘मेसेन्जर आरएनए प्रविधि पहिलेदेखि नै थाहा थियो, तर हामी यसको उपयोग क्यान्सरसहित अन्य खोपमा देखिरहेका थियौं ।’
प्रिभेन्टेबलः हाउ ए पेनडेमिक चेन्ज द वल्र्ड एण्ड हाउ टू स्टप द नेक्स्ट वन पुस्तक लेखिका र एडिनबरा विश्वविद्यालयकी प्रोफेसर देवी श्रीधर महामारीबाट पाएको शिक्षाले नयाँ भाइरसको प्रकोपलाई छिटो पत्ता लगाउने र पहिचान गर्न मद्दत पुगेको बताउँछिन् ।
‘हाम्रो वैज्ञानिक क्षमतामा सुधार आइरहेको छ, हाम्रो प्लेटफर्म लगातार उन्नत भइरहेको छ । महामारीको सुरुवातमा हाम्रो अगाडि यो प्रश्न थियो कि के कुनै भ्याक्सिन आउँछ तर अब यो छ कि ‘हामी कति छिटो भ्याक्सिन बनाउन सक्छौं ?’ उनी भन्छिन् ।
उनी अगाडि भन्छिन्, ‘यसले हामीलाई अर्को महामारीका लागि राम्रो तरिकाले तयार रहन शिक्षा दिएको छ । उदाहरणका लागि जुन देशले राम्रो प्रदर्शन गरे, ती देश हुन् जसको जनसख्ंया महामारीअघि स्वस्थ्य थियो ।’
शिक्षाको नयाँ युग
कोभिड–१९ को समय विद्यालय बन्द हुँदा विश्वभरका बालबालिकामाथि खराब प्रभाव परेको छ ।
इन्टर अमेरिकन डेभलपमेन्ट बैंक(आईडीबी)का शिक्षा प्रभाग प्रमुख मर्सिडीज माटेओका अनुसार प्राथमिक र माध्यमिक स्तरमा स्कूल छोड्ने संख्यामा अधिक वृद्धि भएको छ र सिकाईमा ढिलो भइरहेको छ । यो महामारीको सबैभन्दा गहिरो घाउमध्ये एक हो ।
यसका बाबजुद माटेओ शिक्षा क्षेत्रमा सकारात्मक सकारात्मक परिवर्तन देख्छिन् । ‘२१ औं शताब्दीमा शिक्षामा बहसलाई अगाडि बढाउन र शिक्षा प्रणालीमा पुनर्विचार गर्न निकै सकारात्मक प्रभाव परेको छ,’ उनी भन्छिन्, ‘महाभारीको समयमा यो स्पष्ट भयो कि शिक्षा क्षेत्र सबैभन्दा कम डिजिटल क्षेत्रमध्ये एक हो । यसलाई परिवर्तन गर्न निकै ठूलो हैरानी थियो । तर कोभिड–१९ ले यसलाई लचिलो र हाइब्रिड बन्नका लागि माध्यम बनाइदियो ।’
माटेओ यसकै परिणाम केवल कक्षाकै माध्यमबाट शिक्षा दिनुपर्छ भन्ने विचार पछि परेको बताउँछिन् । यो समयमा स्कूल तिब्र रुपले बन्द हुँदा कैयौं देशमा शिक्षा राजनीतिक एजेण्डाबाट माथि आयो । महामारीले समाजमा स्कूलको भूमिकाका बारेमा धेरै जागरुकता पैदा गर्यो ।
रोजगारीमा सर्वाधिक मार
कोभिड–१९ को सबैभन्दा गम्भीर असर युवा र महिलाको रोजगारीमा पर्यो । महामारीका कारण रोजगारीको अवसर कम भयो र गरिबी बढ्यो । विश्व अर्थव्यवस्थाका लागि यो सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो ।
ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको क्षेत्रीय कार्यालयमा श्रम अर्थशास्त्र विशेषज्ञ गेर्सन मार्टिनेज भन्छन्–महामारीको समयमा भएको बिदाले देशहरुलाई मन्दीबाट बचाउनका लागि प्रभावशाली रुपमा सहयोग गर्यो । यसमा कुनै शंका छैन कि रणनीतिले आर्थिक सुधारलाई गति दिएको छ ।
यद्यपि रोजगारीमा तिब्र रुपले सुधार भएको छ । तर आईएलओले हालै रिपोर्टमा चेतावनी पनि दिएको छ कि भू–राजनीतिक तनाव, जलवायु परिवर्तन र बढ्दो राष्ट्रिय ऋण जस्ता आर्थिक दबाबका कारण यो सुधारमा ढिलाई भइरहेको छ ।
कोभिड–१९ को समयमा रिमोट र हाइब्रिड कार्यमा भएको परिवर्तन स्पष्ट छ । कैयौं विश्वका फर्मद्वारा कार्यालय आएर काम गर्नका लागि दबाब दिनको साटो हाइब्रिड कार्यस्थलको लाभ उठाइरहेका छन् ।
कैयौं सरकारले कार्यालय बाहिरबाट काम गर्नका लागि कानूनी पनि बनाएका छन् । उदाहरणका लागि आयरल्याण्ड र फ्रान्स जस्तो देशमा अधिक लचिलोपनका साथ डिस्कनेक्ट गर्ने अधिकार कानूनपनि संलग्न छन् ।
मानसिक स्वास्थ्यलाई प्राथमिकता
यो महामारीले अनिश्चितता, एक्लोपन, डर र पीडाका बीच विश्वलाई नै एक दर्दनाक काराबास बनाइदियो ।
विश्व स्वास्थ्य संगठन र पेन अमेरिकन हेल्थ अर्गनाइजेसन(पीएएचओ) जस्ता संगठनले महामारीपछि डिप्रेसन, चिन्तामा वृद्धि, आत्मघाती व्यवहार र विचारहरुको व्यापकतामाथि गहन अध्ययन गरेको छ ।
चिन्ता, तनाव र डिप्रेसनकी विशेषज्ञ मनोवैज्ञानिक लारा रोजास–मार्कोस भन्छिन्, ‘महामारीले हाम्रो भावनात्मक स्मृति र हाम्रो सम्बन्ध बनाउने तरिकालाई प्रभावित गरेको छ । यद्यपि यो न केवल पीडाको नभई सिकाईको पनि एक महत्वपूर्ण मोड रहेको छ । अब हामी आफ्नो मानसिक स्वास्थ्यको हेरचाहको महत्व बारे धेरै जागरुक भएका छौं । यो शरीरभन्दा अलग नभई पूर्ण रुपले जोडिएको छ ।’
उनी अगाडि भन्छिन्, ‘मानिसलाई आफ्नो जीवनलाई पछाडि फर्काएर हेर्ने अवसर मिलेको छ । यो समय उनीहरुले यो पनि सिके कि आफ्नो या फेरी पर्यावरणको अस्तित्वलाई हल्का नलिनु ।’
बीबीसी वल्र्ड सर्भिसले ग्लोबस्कैनको माध्यमबाट ३० देशमा गराएको सन् २०२२ को एक सर्वेक्षणको अध्ययनमा एक तिहाई मानिसहरु महामारी भन्दा अगाडिको तुलनामा अहिले मजबुत महशुस गरिरहेको पाइएको छ ।
यसमध्ये कैयौं मानिसहरु परिवारका साथ अधिक समय बिताउन, समुदाय र प्रकृतिलाई जोड्न र आफ्नो समग्र प्राथमिकताका बारे स्पष्ट रुपले महशुस गर्ने कुरा गरिरहेका छन् । यी परिवर्तनका कारण व्यापक रुपले सकारात्मक प्रभाव परिरहेको छ ।
यो संकटले मनोवैज्ञानिकद्वारा थेरापी दिने तरिकामा एक स्थायी र क्रान्तिकारी परिवर्तन आएको छ । यसमा भिडियो कलिङलाई व्यापक रुपमा अपनाइएको छ ।
–बीबीसीबाट