काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । 

OM Sai Pathibhara Hospital

काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा आज उम्मेदवारी दर्ता गराएको बताए । 

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।