सिरहा । यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गरे ।

यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, उनले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । नगरप्रमुख चौधरीले भने, ‘सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिकको गुनासो थियो । अब त्यसबाट मुक्ति मिल्ने छ ।’ 

OM Sai Pathibhara Hospital

आगामी दिनमा नगरमा रहेका जीर्ण सडक क्रमशः कालोपत्र तथा ढलान गरी नगरबासीलाई गुणस्तरीय सडक उपलब्ध गराउने नगरप्रमुख चौधरीको भनाइ छ ।

रु चार करोड पाँच लाख १३ हजार ८१८ रुपैयाँ (भ्याटसहित) रहेको यस आयोजना आगामी जेठ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष युगलकिशोर चौधरीले भित्रि सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएको बताए । उनले यस प्रकारका आयोजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने धारणा राखे ।