काठमाडौं— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा रहेका दलहरूकै कार्यशैलीकै कारण राजावादीहरू सलबल्याएको जिकिर गरेका छन्। उनले अब सरकारको क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध एकसाथ उत्रनुपर्ने आफूहरूको चुनौती भएको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले सरकारको कार्यशैलीकै कारण देश आन्दोलनमय भएको टिप्पणी गरे। राजतन्त्र फर्काउने सपनासमेत देख्न छाडेकाहरूले सत्ताकै गलत शैलीले अहिले सडकमा ओर्लिएको बताए।

‘सरकारको विश्वासनीयता सकिएको देखेरै पुरातनपन्थी राजतन्त्रवादीहरू हौसिएका छन्। राजतन्त्रका सपना देख्न छाडेकाहरू सडकमै ओर्लिएर राजा फर्काउने भनिरहेका छन्’, उनले भने, ‘यसका पछाडि संगठित प्रयास भइरहेको हामीलाई थाहा छ। देश बाहिर र भित्रका शक्ति छन्। तर यो पछिल्लो आठ महिना सत्तामा रहेका पार्टीले देखाएका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मुल कारण हो।’