काठमाडौं— नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट मंगलबार नयाँ नेतृत्व चयन हुँदैछ। सोमबार पार्टी नेतृत्व चुन्ने पूर्व निर्धारित कार्यतालिका रहे पनि विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले मंगलबार (आज) मात्रै चयन हुन लागेको केन्द्रीय सदस्य सरोजराज गोसाईँले जानकारी दिए।
सर्वसम्मत नेतृत्व चयन हुने र संस्थापक अध्यक्ष नारायाणमान बिजुक्छे रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देखिएको गोसाँई बताउँछन्। स्रोतका अनुसार बिजुक्छेको विकल्पमा अघि सर्न कोही पनि तयार देखिएका छैनन्।

२०३१ साल माघ १० गते स्थापना भएको पार्टीमा बिजुक्छे स्थापनाकालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । उहाँ सातौं महाधिवेशनसम्म सर्वसम्मत अध्यक्ष बन्दै आएका हुन्।
यसअघि सोमबार बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल भएको थियो। यस्तै पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलगायत विषयमा छलफल भएको थियो । महाधिवेशनमा ५० जिल्लाका करिब ३०० प्रतिनिधि सहभागी छन्।