काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।
नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने,‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको छ । संसदमा टेबुल भएका अध्यादेशहरुका विषयमा पनि छलफल भएको छ । खासगरी संसदमा विचाराधीन कयौं विधेयकहरू छन् जसमा दुवै सदनका महत्वपूर्ण देखिएका विधेयकहरुलाई निश्कर्षमा पुर्याउने र विधेयकहरु अगाडि बढाउने र एउटा बाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरुलाई पनि निश्कर्षमा पुर्याउने निर्णय गरिएको छ ।’