काठमाण्डौ  ।   नेपालको राजनीतिक इतिहासमा यस्ता केही क्षणहरू आउँछन्, जसले समस्त राष्ट्रलाई झकझक्याउँछन् । ३ मंसिर २०८१, त्यस्तै एक ऐतिहासिक दिन थियो । देशका तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा गरेको साढे ३३ अर्ब रुपैयाँ लगानी प्रकरणको  आधिकारीक सवुत बिशेष सुत्रबाट अभियानलाई केही समय पहिले प्राप्त भै सकेको थियो । नागरिक बचाउ महाअभियानले उक्त घोटालाबारे पत्रकार सम्मेलन मार्फत सच्चाई सार्वजनिक गर्यो । 

 यो घोटालाको पर्दाफास भएपछि सरकारमा हडकम्प मच्चियो । अन्याय र भ्रष्टाचारको विरोधमा उठेका आवाजहरू दबाउन सरकारले निर्मम रणनीति अपनायो । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन नामक सरकार यतिबेला सरकारमा छ । जसलाइ नागरिकले ठगबन्धनको रुपमा चिनिसकेका थिए । मंसिर ४ गते, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई भक्तपुरस्थित आफ्नै निवासबाट गिरफ्तार गर्यो। गिरफ्तारीको यो दृश्य कुनै चलचित्रको कथाभन्दा कम थिएन। 

OM Sai Pathibhara Hospital

दुर्गा प्रसाईले सम्हाल्दै आएको अनाथ बालबालिकाका मोबाइल र ल्यापटप समेत प्रहरीले जफत गर्यो। त्यो दिन केवल एक व्यक्तिको गिरफ्तारी भयो, तर सत्यको पक्षमा उभिने हजारौं नागरिकको मनमा चोट पुग्यो। 

नागरिक बचाउ महा अभियानको मंसिर ७ गतेका लागि पूर्व घोषणा गरिएको राष्ट्रव्यापी विरोध प्रदर्शन रोक्न सरकारको कठोर दमन जारी रह्यो। केन्द्रीय संयोजकको गिरफ्तारीसँगै अभियानका अन्य सदस्यहरू पनि धरपकडमा परे। राकेश प्रसाई, यदुनाथ सिग्देल, देवी संग्रौला, ओमप्रकाश लुइटेल, राजु रानाभाट, माधव पौड्याल, सुदीप नेपाल, बलबहादुर तामाङ,तेजेन्द्र रायामाझी, सहदेव गौतम, दिपक खड्का, तेजनारायण यादव, किसुन महतो, यदुनन्दन शाह, नीताराज कर्ण , अनिल खत्रि, तुलसी बिश्वकर्मा, बिश्वास सुवेदी, रमेश सिंह गौतम, काजिमान सर, रामधिमाल, गोपी जी , अनिल थापा लगायतका अभियन्ताहरूलाई पक्राउ गरियो। कतिपय अभियन्ताहरूमाथि झुटा अभियोग लगाएर मुद्दा दायर गरियो। कतिपयलाइ पक्राउको २४ घण्टा नवित्दै छाडिएको थियो ।  सो समयमा म लगायतका केही अभियन्ताहरू गिरफ्तार हुनबाट बच्न सफल भयौ । सबैका आँखामा भय थिएन, थियो त केवल सत्यका लागि संघर्ष गर्ने अटल प्रतिबद्धता । दुर्गा प्रसाईले गिरफ्तारीअघि आफ्ना सहकर्मीलाई लेखेका शब्दहरू अझै पनि मनमा गढिएका छन् – *“भाग्ने डराउने कायरहरूको काम हो। म सत्यको लागि लडिरहेको छु, मलाई कुनै डर छैन।”* वहाँमा आफ्नो कर्म प्रती दृढ संकल्पल र स्वाभिमान प्रष्ट संग झल्केको देखिन्थ्यो । 

 यो घटनाले आम नागरिकको मनमा सरकारप्रति आक्रोश र निराशा भरिदियो। के यो देशमा सत्य बोल्न पनि अपराध मानिन्छ ? भ्रष्टाचारको पर्दाफास गर्नेहरूलाई दण्ड दिनुपर्ने ? न्यायोचित प्रणाली के हाम्रो देशमा छैन? यी प्रश्नहरूले नागरिक समाजलाई उद्वेलित गर्यो। 

 मंसिर ७ गते कोटेश्वरमा आयोजित विरोध सभामा हजारौं जनता स्वतःस्फूर्त भेला भए। उनीहरूको आँखामा आँसु थियो, तर हृदयमा आक्रोश र संघर्षको ज्वाला बलिरहेको थियो। विभिन्न स्वतन्त्र विश्लेषक, सामाजिक अभियन्ता र राष्ट्रवादी नेताहरूले यस सभामा सरकारको दमनकारी रवैयाको घोर भर्त्सना गरे ।

 मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको यो आवाज दबाउने सरकारको प्रयास असफल भयो। नागरिक बचाउ महाअभियानले सत्यको बलमा, न्यायको खोजीमा र भ्रष्टाचारको अन्त्यका लागि देशव्यापी आन्दोलनलाई निरन्तरता दियो। 

दुर्गा प्रसाईका शब्दहरूले आन्दोलनकारीहरूलाई थप साहस प्रदान गर्यो – *“मलाई फाँसीमा झुन्ड्याए पनि, जेलमा कैद गरे पनि, सत्यको यो यात्रा कहिल्यै रोकिने छैन।”* 

नेपाली जनतामाथि गरिएको यो दमनले विश्वभरका निरंकुश शासकहरूको पतनको झल्को दियो। सिरियाका बसद अल-असददेखि बंगलादेशकी शेख हसिनासम्मका घटनाले देखाएझैं, दमनले जनताको आवाज दबाउन सक्दैन। नेपाली जनताले दमन सहँदैनन्, र यस आन्दोलनले शासकहरूको मनपरी शासनविरुद्ध नयाँ आँधीको संकेत गर्‍यो।

 यस घटनाले एक कुरा स्पष्ट गर्यो – जबसम्म अन्याय र भ्रष्टाचार कायम रहन्छ, तबसम्म सत्यका सेनानीहरू जन्मिरहनेछन् । दमनको कुनै पनि शक्ति सत्यलाई परास्त गर्न सक्दैन। यो कथा केवल दुर्गा प्रसाई र उनका सहकर्मीहरूको मात्र होइन, यो सम्पूर्ण नेपाली जनताको आत्मसम्मान र न्यायको लागि लडेको इतिहास हो।

जब-जब अन्यायले न्यायलाई दबाउन खोज्छ, तब-तब हरेक नेपालीको हृदयमा नयाँ चेतना र साहस जागृत हुन्छ। कदाचित, यही हो सत्यको विजयको मूलमन्त्र।