विराटनगर  ।    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरमा कांग्रेसकै इतर अर्थात डा. शेखर कोइराला गुटले गरेको भेलाका बारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भेलाका बारेमा आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय समितिको सर्कुलर विपरीत कोइराला पक्षले गत मंगलबार विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरुको भेला आयोजना गरेको थियो ।

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

भेलाको बन्दसत्र भने बेलबारीको ड्रीमल्याण्ड पार्कमा भएको  थियो । सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा मेडिकल व्यवसायी डाक्टर सुनील शर्मा, मोरङ क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बू, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरे लगायतका नेताहरु सहभागी थिए ।

विराटनगरमा भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट तपाईंहरु आत्तिनु भएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’ यही विषयमा पत्रकारले प्रश्न सोध्दा पार्टी सभापति देउवाले भने भेलाका बारेमा थाहा नभएको बताएका हुन् । उनले भने, ‘मलाई थाहै छैन । अहिले थाहा पाएँ ।’

कांग्रेसको प्रदेश समितिले  मंसीर २२गते (दिसंबर १) अर्थात शनिबार प्रदेश सम्मेलन आयोजना गर्दैछ । उक्त भेलालाई देउवालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि देउवा, गृहमन्त्री रमेश लेखकलगायतका नेता शुक्रबार धरान गएका छन् ।

विराटनगर विमानस्थलमै देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ संविधान संशोधनको प्रसंगमा सोधिएको प्रश्नमा देउवाको जवाफ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उनको भनाइ छ । उनले ऋण लिने सहमति नगरेको भन्दै ओलीलाई धन्यवाद दिए । देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने स्पष्ट पारेका छन् । तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनेर पत्रकारले प्रश्न गर्दा उनले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ।’