काठमाडौं— नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनले भने, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाएका छौँ ।’
उनले उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको जानकारी दिए । प्रवक्ता सापकोटाले मङ्सिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कात्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने छ ।’
प्रवक्ता सापकोटाले पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको समेत बताए ।





































