काठमाडौं—पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले दिगो विकासका स्पष्ट लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ। उहाँले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले भविष्यको विकास योजना पहिला नै निर्धारण गरेर जनतालाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

पूर्व राष्ट्रपति भण्डारीले भूकम्प, बाढी, पहिरो जस्ता प्रकोपहरूको असर र वातावरणीय संकटको दीर्घकालीन मूल्याङ्कन गरेर सय वर्षका लागि दिगो विकासका लक्ष्य निर्धारण गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले भौगोलिक संरचना, सार्वजनिक जग्गा, नदी तथा वनको उचित व्यवस्थापन गरेर जनजीवन सुरक्षित बनाउन योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

OM Sai Pathibhara Hospital

भण्डारीले विकास निर्माण गर्दा जलवायु अनुकूलन र प्राकृतिक जोखिमलाई ध्यानमा राख्न जोड दिँदै सुरक्षित बस्ती निर्माण तथा सुरक्षित संरचनाको विकास गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो। उहाँले निर्माण कार्यलाई दीर्घकालीन र जोखिमरहित बनाउँदै जीवन रक्षा नै हाम्रो प्रथम दायित्व रहेको बताउनुभयो।

जलवायुजन्य अप्रत्याशित घटनाहरूको वृद्धि र बदलिंदो वातावरणीय परिस्थितिलाई दृष्टिगत गर्दै पूर्व राष्ट्रपति भण्डारीले सुरक्षित बस्ती विकास र आपतकालीन उद्धार संयन्त्रको विकास गर्न सरकारलाई आग्रह गर्नुभएको छ।