काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ गरिएको विरोधमा रास्वपाको आन्दोलन आज बालुवाटारमा केन्द्रित भएको हो।
रास्वपाले मध्याह्न १२ बजे बालुवाटारमा भेला भएर राजनीतिक प्रतिशोध र अधिनायकवादविरुद्ध वृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले कार्यकर्ता र समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै अधिनायकवादी दुई तिहाइ सरकारको प्रतिशोधपूर्ण गतिविधि विरुद्ध आवाज उठाउने बताएका छन्।
सभापति लामिछानेलाई कात्तिक २ गते सहकारी ठगी आरोपमा पक्राउ गरेपछि रास्वपाले विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ। हिजो भने रास्वपाले प्रदर्शन नगरेको भए पनि पार्टीले राजनीतिक प्रतिशोधविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएको छ।