काठमाडौं— दशैं नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ। उपत्यकामा दशैंलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो। 

पशुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ। विभागका क्वारेन्टिन महाशाखा प्रमुख डा. राजेश यादवले उपत्यकामा नौ स्थानमा पशुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। बिहीबार परीक्षण भएकोमा छ वटामा स्वास्थ्य समस्या देखिएको बताउँदै उनले घटस्थापनादेखि दशैंको छैटौँ दिन मङ्गलबारसम्म उपत्यकाका १० वटा बिक्री केन्द्रमा २५ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन्। 

OM Sai Pathibhara Hospital

विभागका अनुसार गत वर्ष दशैंका बेला ३८ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा गरेर ३८ हजारभन्दा बढी बिक्री भएका थिए। 

यो वर्ष पनि त्यही हाराहारीमा बिक्री हुने अनुमान विभागले गरेको छ। विभागका अनुसार उपत्यकामा दशैंमा मासुुका लागि खसीबोका, च्याङ्ग्रा, भेडा, राँगालगायतका चौपाया एकै पटक धेरै भित्र्याइने भएकाले बिरामी हुन सक्ने र जसको उपभोगले मानव स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले उपत्यकाका १० स्थानमा क्वारेन्टाइन परीक्षण गर्दै आएको छ। उपत्यकामा खसीबोका तथा पशुचौपाया बिक्रीका लागि लोकन्थली, कङ्लकी, टुकुचा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, चापागाउँ, टोखा, सल्लाघारी, चन्द्रागिरि, बालाजुमा खसीबोका, च्याङ्ग्रा, भेडा बिक्री केन्द्र तोकिएका छन् भने चौभारमा राँगा बिक्री केन्द्र तोकिएको छ। 

यस्तै कालीमाटी फलफूल तथा तरकारी बजारलाई माछा बिक्री केन्द्र तोकेर माछाविज्ञबाट खान योग्य भए वा नभएको परीक्षण भएको  विभागले जनाएको छ। 

भक्तपुरको लोकन्थलीको पशुचौपाया बिक्री स्थलमा खसीबोका, च्याङ्ग्रा, भेडालगायतको स्वास्थ्य परीक्षणका लागि खटिएका पशु विकास अधिकृत सीताराम ओलीले यस केन्द्रमा आएका खसीबोका, च्याङ्ग्रामा कुनै स्वास्थ्य समस्या नदेखिएको बताए । यस केन्द्रमा हालसम्म चार हजारभन्दा बढी खसीबोका र च्याङ्ग्राको परीक्षण भएको बिहीबारसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको उनले बताए । 

कम्पनीले आइतबारदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गरिरहेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य ६७० रुपियाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको एक हजार २३० रुपियाँ तोकिएको छ। यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ। व्यवसायीले खसीबोका जिउँदोको ६५० देखि ६९० रुपियाँ केजीमा  बिक्री गर्न सुरु गरेका छन्। च्याङ्ग्राको एक हजार दुई सयदेखि एक हजार २५० रुपियाँसम्ममा बिक्री गरिरहेका छन्। दशैंलाई लक्षित गरेर देशका विभिन्न जिल्लाबाट उपत्यकामा खसीबोका ल्याउने क्रम नवमीसम्म जारी रहने जनाइएको छ। उपत्यकामा दाङ, सल्यान, सुर्खेत, सिन्धुली, मकवानपुर, उदयपुर, रुकुम रोल्पा, ओखलढुङ्गा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरियालगायतका जिल्लाबाट ल्याएका छन्। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ।  

दशैंमा घरमै मार हानेर र मठमन्दिरमा बलि दिन बोका, राँगा, कुखुरा, हाँस र च्याङ्ग्राको मासु खाने चलन अत्यधिक हुँदा यो बेला यस्ता मासुका खाइने पशुको कारोबार पनि करोडौँ रुपियाँ बराबरको हुने गरेको छ। दशैंका बेला राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबै क्षेत्रमा खसीबोकाको माग उच्च हुन्छ। दशैंमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुन्छ। 

यसैबीच, सर्लाही समाचारदाताका अनुसार दशैंमा खसीबोका बिक्री नहुँदा सर्लाहीका किसान चिन्तित बनेका छन्। दशैं खर्च जोहो गर्न भनी वर्ष दिनसम्म पालिएको खसीबोका भाउ नपाएर बिक्रि गर्न नपाएको किसानको गुनासो छ। खसीबोका बिक्री नभएपछि किसानले घर फर्काएका छन्। लालबन्दी नगरपालिका–१३, पत्थरकोटका तिलकमान थिङले लालबन्दी बजारमा बेच्न ल्याएको दुई वटा खसी बिक्री नभए पछि घर फर्काएर लगेको बताए । १० धार्नीको खसीलाई व्यापारीले १८/२० हजार रुपियाँभन्दा धेरै नदिएको थिङको भनाइ छ।