काठमाडौं—  चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन्। दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन्।

सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो संख्याको अनुगमन टोली परिचालनका कारण दैनिक उपभोग्य वस्तुको भाउ घटेको छ,’ उनले भने। 

OM Sai Pathibhara Hospital

सहुलियत पसलबाट खाद्य कम्पनीले दैनिक १७ लाख र साल्ट ट्रेडिङले २५ लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री गरिरहेको जनाएका छन्। खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सहुलियत पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको बताए। ‘देशभरका बिक्री केन्द्रमा साबिकको भन्दा धेरै परिमाणमा खाद्यान्न बिक्री भइरहेको छ। कर्णालीका बिक्री केन्द्रमा सबैभन्दा बढी आकर्षण छ,’ उनले भने।

सहुलियत पसलमा चामल सबैभन्दा धेरै बिक्री भइरहेको उनले जानकारी दिए। खाद्य कम्पनीले विभिन्न नौ किसिमका चामलमा प्रतिकिलो पाँचदेखि सात रुपैयाँ छुट दिएको छ। खाद्य कम्पनीलाई छुटमा खाद्यान्न बिक्री गर्न सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कम्पनीले तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ र डिडिसीको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट राखेको छ।

७ असोजबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री थालेको साल्ट ट्रेडिङले दैनिक करिब २५ लाखसम्मको कारोबार गरिरहेको सहायक महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए। उनका अनुसार बिहीबारसम्म दुई करोड ५० लाख रुपैयाँको खाद्यान्न बिक्री भइसकेको छ। साल्ट ट्रेडिङलाई सहुलियत पसल सञ्चालन गर्न ८० लाख बजेट विनियोजन गरिएको छ।