काठमाडौं–स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने जनाइएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ, र ४ गतेसम्म उजुरीको जाँचबुझ गरी निर्णय गरिनेछ। मङ्सिर ५ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन चिह्न पनि त्यही दिन प्रदान गरिनेछ।
मतदान मङ्सिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ, र प्रचारप्रसार निषेध अवधि मङ्सिर १३ गते राति १२ बजेपछि लागू हुनेछ।