काठमाडौ- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । 

मंगलवार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

जलवायु अनुकुलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे । 

उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर्न सकिने बताए । 

संघले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र संघ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै मुख्यमन्त्री सिंहले सबै एकजुट भइ समस्याको समाधानका लागि काम गर्नुपर्नेमा जोड दिए । 

उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

काम धेरै गर्नुपर्ने तर बजेट सिमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताए । 

मुख्यमन्त्री सिंहले स्थानीय तहले पनि संघ र प्रदेशका सांसदहरुसँग सम्बन्धित क्षेत्रमा योजना बनाउँदा समन्वय गरे जलवायु परिवर्तनको असर कम गर्नेगरी विकास गर्न सकिने बताए ।