काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै खनालले संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । 

उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गर्नुभयो । उहाँले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको जिकिर गरे । 

उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताए । 

खनालले भने, ‘यो संविधान बनाएको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौँ । यो संविधान एउटा सम्झौताको संविधान हो । यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरु छन् । हामी यो संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि कसैले गर्छ भने हामी त्यसका बिरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं ।’

पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको समेत बताए ।