काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत राजनीतिक तहमा देखिएको अस्थिरता समाधान गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा रहेका सबै दलको सहमति जुटाएर संविधान संशोधन अघि बढाइने बताएका हुन् । 

उनका अनुसार संविधानलाई समयानुकूल बनाउँदै राजनीतिक स्थायित्वको लागि संविधान संशोधन आवश्यक छ । यसका लागि सबै दलको सहमति प्राप्त गर्न अधिकतम प्रयास हुनेछ । प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताएका हुन् । 

OM Sai Pathibhara Hospital

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सांस्कृतिक झाँकी प्रस्तुत गर्दै शान्तिको प्रतीक सेतो परेवा उडाएका थिए ।

प्रधानमन्त्रीले मौलिक हकको कार्यान्वयन र आर्थिक स्रोत व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित रहेको जनाउँदै देशभित्रै युवालाई रोजगारी दिने र सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्न समावेशी विकासको आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।