काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा संविधानको कार्यान्वयन र जनताको अधिकारहरूको रक्षा गर्न आग्रह गरेका छन्। 

आजको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले संविधानले जनतालाई प्राप्त अधिकारहरूको संरक्षण र उपयोग गर्दै जनताको अवस्था सुधार्नका लागि दृढता अपनाउनुपर्नेमा जोड दिएका छन्। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवाद निर्माणको अभियानलाई अघि बढाउनु आवश्यक रहेकोतर्फ जोड दिएका हुन् । 

OM Sai Pathibhara Hospital

दाहालले संविधान निर्माणमा योगदान दिने सम्पूर्ण नेपालीलाई सम्मान गर्दै महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।  उनले बेपत्ता यौद्धा, घाइते र अपाङ्ग यौद्धाहरूप्रति पनि सम्मान प्रकट गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले संविधान दिवसलाई अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध नेपाल र नेपाली जनतालाई एकताबद्ध गर्ने अवसरको रूपमा लिएका छन्। संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरू तदारुकतासाथ पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै दाहालले जनतालाई अराजकता र भ्रष्टाचारका विरुद्ध नयाँ उत्साहका साथ अघि बढ्न आह्वान गरेका छन्।


Prachand 2